बीमा कम्पनीका कर्मचारीहरुले आधारभुत तालिमै पाउदैनन्, कागजी प्रतिवेदनमा सबै कर्मचारी दक्ष
टिकापुर : शाखाको क्षमता बढाउने नीतिको विरोध गर्ने बीमा कम्पनीहरु आफ्नै कर्मचारीको क्षमता बढाउन तर्फ भने खासै चासो राख्दैनन् । बीमा कम्पनीका प्राय कर्मचारीले आफ्नो जागिरे जीवनमा खासै उपलब्धी पुर्ण हुने गरी तालिम तथा क्षमता बढाउने कार्यक्रममा सहभागी हुनै पाउदैनन् ।
केन्द्रिय कार्यालयका केहि कर्मचारीहरुले विभिन्न तालिम तथा सेमिनारमा सहभागी हुने मौका पाए पनि शाखा कार्यालयका कुनै पनि कर्मचारीहरुले सामान्य तालिमको समेत अवसर पाउदैनन् । तालिम दिइहाले पनि सामान्य जुम मिटिङबाट दिने गरिन्छ ।
यसरी प्रदान गरिने तालिममा पनि व्यवसायका लागि दवाव दिइन्छ । व्यवसाय किन नल्याएकोदेखि लिएर व्यवसाय यसरी ल्याउने भनेर आदेश दिइन्छ । तर बीमाका प्राविधिक पाटामा कहिले पनि तालिम दिइदैन । १० औ वर्ष कुनै एउटा शाखा तथा विभागमै काम गरेका कर्मचारीले पनि त्यस क्षेत्रका व्यवहारिक अभ्यास र काम कारबाही बाहेक त्यस भित्रका प्राविधिक पाटालाई बुझेका हुँदैनन् ।
कर्मचारीले सामान्य कागजी प्रकृयाँ पुरा गर्ने बाहेक यस भित्रका प्राविधिक पक्षलाई समेत बुझेका हुँदैनन् । शैक्षिक योग्यता र कार्यालयमा कागजी प्रकृयाँ पुरा गरेकै भरमा कर्मचारीको क्षमता अभिबृद्धि हुँदैन । एक बीमा कम्पनीका कर्मचारीका अनुसार तालिम दिइहाले पनि गुणस्तरीय हुँदैनन् ।
कम्पनीले कर्मचारीको तह अनुसार तालिम प्रदान गर्ने कर्मचारीहरुको वर्गिकरण गरेका हुन्छन् । सबैभन्दा तल्लो तहमा तालिम दिने क्षेत्रीय प्रवन्धकहरु आफै दक्ष र योग्य हुँदैनन् । कम्पनीले कर्मचारीको तह अनुसार कसलाई कुन तालिम र कसरी दिने भनेर सामान्य म्यानुअल समेत बनाएका हुँदैनन् ।
तालिम दिने भन्ने बाहेक यसलाई कसरी गुणस्तरीय बनाउने भनेर निश्चित मार्गदर्शन र ढाँचा समेत हुँदैन । यस्तो नहुँदा कर्मचारीहरुले आफुलाई मनलाग्दी विषयवस्तुको छनोट गरेर तालिम दिन्छन् । जसले गर्दा एउटै कम्पनीका कर्मचारीले दिने प्रस्तुतिकरणमा एकरुपता हुँदैन । कम्पनीहरुले आफ्नै वारेमा भन्ने कुराहरुमा समेत फरक पर्ने गरेको पाइन्छ ।
कर्मचारीहरुले सामान्य अण्डराइटिङका विषयवस्तु नबुँदा बीमा क्षेत्रमा धेरै दुर्घटना घटेको पाइन्छ । बीमा कम्पनीहरुले कर्मचारीलाई कहिले पनि योग्यता र दक्षताका आधारमा मूल्याङ्कन गरेका हुँदैनन् । व्यवसाय भित्र्याएकै आधारमा बीमा कम्पनीका कर्मचारीहरु माथिल्लो पदमा पुग्ने भएकाले क्षमतावान कर्मचारीहरु पलायन हुन बाध्य हुन्छन् ।
व्यवसाय भित्र्याएकै आधारमा कर्मचारीहरुको बढुवा हुने भएकाले पनि बीमा क्षेत्रमा दक्ष कर्मचारी पाउन मुस्किल छ । बीमा क्षेत्रमा कुनै पनि कर्मचारीको कार्यक्षमताका आधारम मूल्याङ्कन हुँदैन । कुन शाखा प्रवन्धकले यस वर्ष कति व्यवसाय ल्यायो भन्ने आधारमा मूल्याङ्कन हुने भएकाले सबै जनाको ध्यान जसरी पनि व्यवसाय भित्र्याउने भन्ने हुन्छ । सोहि क्रममा व्यवसायको गुणस्तरलाई मूल्याङ्कन गरिदैन । आम्दानी नै नभएका मानिसको करोडौंको बीमा हुँदा पनि बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क लिएर बीमा गरिदिन्छन् । दोस्रो किस्ता कसरी तिर्न सक्छ, बीमा अवधिभर पोलिसीलाई निरन्तरता दिन सक्छ सक्दैन भनेर केलाइदैन । यसले गर्दा अपराधिक मानसिकता भएका व्यक्तिहरुले सजिलै बीमा क्षेत्रलाई प्रयोग गर्न सक्छन् । सर्जन विक घटना पनि कर्मचारीकै असक्षमताको उपज हो । जसमा कर्मचारीको असक्षमतालाई मात्रै दोष दिन मिल्दैन समग्र बीमा कम्पनीहरुको कार्यशैली पनि एक महत्वपुर्ण कारण हो ।
तालिम म्यानुअल
बीमा कम्पनीहरुले बीमा शुल्कको २ प्रतिशतसम्म कर्मचारीको क्षमता बढाउनेदेखि लिएर बीमा व्यवसाय बढाउनका लागि विभिन्न कार्यक्रमहरु गरेर खर्च गर्न पाउछन् । यो भनेको बीमा कम्पनीका लागि धेरै ठुलो कोष हो । जसबाट कर्मचारीहरुलाई दक्ष र योग्य बनाउन सजिलै सकिन्छ ।
त्यसैले बीमा कम्पनीहरुमा तालिमको आ(आफ्नै म्यानुअलको आवस्यकता पर्ने देखिएको विज्ञहरु बताउछन् । कुन तहका कर्मचारीलाई कति तालिम आवस्यक पर्ने भनेर त्यसको म्यानुअल आवस्यक पर्छ । कुनै पनि कर्मचारीलाई एक पटक तालिम दिएर पुग्दैन । उनिहरुलाई कम्तिमा पनि ३ देखि ६ महिनामा तालिमको आवस्यकता पर्दछ । यदि निश्चित समय अवधिमा विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्ने हो भने कर्मचारीको क्षमता बढाउन सकिने विश्लेषकहरु बताउछन् ।
तालिमको आवस्यकता उच्च व्यवस्थापन तहका कर्मचारीदेखि लिएर सबैभन्दा तल्लो तहका कर्मचारीरुलाई समेत आवस्यक पर्छ । सकेसम्म प्रत्यक्ष भौतिक उपस्थितिमा तालिम सञ्चालन गर्दा राम्रो मानिन्छ । यदि सकिदैन भने भर्चुअल माध्यमबाट पनि तालिम दिनु पर्छ । बीमा कम्पनीहरुले तालिम दिने कर्मचारीहरु समेत तयार पार्नु पर्ने देखिन्छ । यदि आफु सँग तालिम दिने कर्मचारी छैनन् भने बाह्य क्षेत्रका विज्ञहरुलाई समेत प्रशिक्षकको रुपमा भित्र्याउनु पर्छ ।
बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिरकणमा बुझाउने तालिम सम्बन्धी विवरण हेर्ने हो भने सबै जना दक्ष र सक्षम रहेको जनाउछ । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीका अनुसार बीमा कम्पनीहरुले बुझाउने प्रतिवेदनमा कर्मचारीलाई तालिम दिएको शिर्षकमा करोडौ रुपैयाँ खर्च भएको देखिन्छ । कम्पनीहरुले वास्तविक रुपमा तालिम दिने भन्दा पनि कागजमा मात्रै तालिम दिदा यस्तो अवस्था आएको उनको आरोप छ । कम्पनीहरुले कागजमा मात्रै तालिम दिएको विषयलाई प्राधिकरणले पनि अनुगमन गर्न नसक्दा यस्तो अवस्था आएको हो ।
कम्पनीहरुले दिएका तालिम पनि जति प्रोडक्टिभ हुनु पर्ने थियो त्यति धेरै प्रोडक्टिभ देखिदैन । जसले गर्दा तालिम अर्थपुर्ण देखिएन । त्यसैले पनि बीमा कम्पनीहरुलाई तालिमको सम्बन्धी म्यानुअल बनाउनुका साथै वार्षिक कार्ययोजना नै बनाउन आवस्यक पर्छ । यसका लागि अल्पकालिन र दीर्घकालिन दुबै किसिमका योजना हुने हो भने कालान्तरमा बीमा कम्पनीका कर्मचारी पनि दक्ष र योग्य ठहरिनेछन् । बीमा प्राधिकरण सहित बीमा कम्पनीले लगानी गरेको इन्स्योरेन्स इन्स्टिच्युटलाई समेत राम्रो सँग प्रयोग गर्न सकिएको छैन । यसबाट पनि कम्पनीहरुले कर्मचारीलाई तालिम दिन सक्छन् ।
कर्मचारीको मूल्याङ्कन क्षमतामाको आधारमा गर्ने कि व्यवसाय भित्र्याएको आधारमा ?
बीमा क्षेत्रले दक्ष र योग्य कर्मचारी पाउन नसक्नुको प्रमुख कारण कुनै पनि कर्मचारीको बढुवा क्षमता र योग्यतामा भन्दा पनि मार्केटिङको आधारमा धेरै हुन्छ । जुन कर्मचारीले तोकिएको टार्गेट भन्दा धेरै व्यवसाय भित्र्याउछ उसलको बढुवा छिटो हुन्छ । उसले जसरी ल्याओस् मतलब हुँदैन मात्रै उसले कम्पनीमा कति बीमा शुल्क भित्र्यायो भन्ने आधारमा मूल्याङ्कन हुन्छ । यसले गर्दा क्षमतावान कर्मचारीहरु कहिले पनि माथि पुग्न सक्दैनन् । यसैले गर्दा बीमा क्षेत्रमा अण्डराइटिङ, रि(इन्स्योरेन्स, इन्भेष्टमेन्टमा राम्रा र दक्ष कर्मचारी भेटाउन मुस्किल छ ।
पछिल्लो समय बीमा क्षेत्रमा पनि आर्थिक मन्दीको प्रभाव देखिएको छ । यहि अवधिमा अधिकाम्स बीमा कम्पनीहरुले शाखा प्रवन्धकहरुलाई तोकिएको टार्गेट पुरा गर्न दवाव दिदै आएका छन् । जसले टार्गेट पुरा गर्न सक्दैन उनिहरुलाई सरुवा गर्नेदेखि लिएर पद नै घटुवा गर्नेसम्मका काम भएका छन् ।
बीमा आफैमा जोखिमयुक्त क्षेत्र हो । यसलाई राष्ट्रिय सन्दर्भलाई हेरर मात्रै पुर्ण हुँदैन । कतिपय अवस्थामा नेपालको जस्तै समस्या र सिनारियोमा काम गरेका मुलुककका अभ्यासलाई पनि नजर अन्दाज गर्नु पर्छ । यसका लागि पनि कम्पनीहरुले खर्च गर्नु पर्छ । कम्तिमा पनि विदेशी इन्स्टिच्युटमा तालिम गराउने, अन्य देशका उच्च व्यवस्थापन तहका कर्मचारीहरु विचमा आइडिया सियरिङ गराउने वातावरण बनाउनु पर्छ । यो काम बीमा कम्पनीहरुले मात्रै नगरेर नेपाल बीमा प्राधिकरणले पनि गर्नु पर्छ ।
प्रतिकृया दिनुहोस